लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवन निर्माण शुरु
तिलोत्तमा । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी उपत्यकामा तीन अर्ब बढीको लगानीमा प्रदेश सरकारको प्रशासनिक भवन निर्माण शुरु भएको छ । निर्माणको लागि शर्मा सुगन जेभी कम्पनीले भ्याट बाहेक ३ अर्ब ९ करोड रुपैयाँको लगानीमा काम गरिरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित १० मन्त्रालयका भवन मध्ये सात वटाको काम भइरहेको छ भने तीन वटाको शुरू हुने क्रममा रहेको छ ।
प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाइका इन्जिनियर एवं सूचना अधिकारी प्रदीप भट्टराईले निर्माणको काम भएका भवनको अहिलेसम्म ३० प्रतिशत भौतिक र साढे ८ प्रतिशत वित्तीय प्रगति भएको बताउनुभयो । सबै मन्त्रालय एउटै मोडलमा निर्माण भइरहेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ९६ कोठासहित ६ तले हुनेछ । त्यसमा प्रमुख सचिवको कार्यकक्षसहित सानो बैठक हल र एउटा मल्टीप्रपोज हल बन्ने उहाँले बताउनुभयो । २०७९ मंसिर २८ गते सम्झौता भई पौष १८ गतेबाट काम शुरू गरेको कम्पनीले २०८२ पुस १७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ ।
राजधानीका प्रशासनिक संरचनाभित्र ११ सय मिटर बाटोसहित आन्तरिक सडक सञ्जालसमेत हुनेछ । मुख्यमन्त्रीसहित १० वटा मन्त्रालय रहेको लुम्बिनी सरकारका ७ वटा मन्त्रालय देउखुरीमा रहेका छन् । राप्ती प्राविधिक शिक्षालय मर्मत गरेर प्रदेश सभा र प्रदेश सचिवालय निर्माण गरिएको प्राधिकरण प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताउनुभयो ।
तपाईको प्रतिक्रिया