00:00:00
राष्ट्रिय

योगराज ढकाल रिगलले ११ वर्ष ११ महिना ५ दिन थुनामा बिताउनु पर्ने 

शुक्रबार कार्तिक १७, २०८०/ Friday 11-03-23

तिलोत्तमा ।  सर्वोच्च अदालतको फैसला लगत्तै समातिएका रिगल भनिने योगराज ढकालले अझै ११ वर्ष ११ महिना ५ दिन थुनामा बिताउनु पर्ने  छ। उनलाई बाँके प्रहरीले बिहिबार साँझ पक्राउ गरेको थियो । 

प्रहरीले उनलाई नेपालगञ्जको सेतु विक चोकबाट पक्राउ गरेको जनाएको छ । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सजाय छुट सर्वोच्चले बिहीबार बदर गरिदिएको थियो।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सजाय छुट बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो।

रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो।

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। साथै, उक्त घटनामा संलग्नअन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो।

उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध रहेका रिगललाई संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रपति पौडेलले कैद माफी दिएका थिए ।

हल्या आरोप पुष्टि भएका रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया