00:00:00
राष्ट्रिय

छठ पर्व सुरु, आज नयहाय खाय मनाइदै

शुक्रबार मङ्सिर १, २०८०/ Friday 11-17-23

तिलोत्तमा । मंसीर १ गते । सूर्यको उपासना गरी मनाइने छठ पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो ।

ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । परिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खान्छन् । त्यसलाई खरना भनिन्छ । तेस्रो दिन पर्सि आइतबार छठ पर्वको मुख्य दिन हो ।

सो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ । चौथा दिने (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपवको विधिवत समापन गरिन्छ । छठको मुख्य दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यलाई अघ्र्यको रुपमा चढाउने गरिन्छ । अघ्र्य दिन ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् ।

छठ पर्वमा सूर्यलाई अघ्र्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् ।

छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्त्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । यस्तै काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा पनि छठको रौनक बढ्दो छ ।

नदी तटलाई झकिझकाउ बनाइएको छ छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

तपाईको प्रतिक्रिया