तिलोत्तमा । मंसीर ७ गते । कार्तिक शुक्ल एकादशी अर्थात् आज हरि बोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि र मान्यता रहेको छ ।
कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरि बोधिनी एकादशी पर्व मनाइन्छ ।
हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भन्ने गरिएको शास्त्रीय मान्यता छ ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ ।
तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
एकादशीका दिन उपवास बसी नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गरिन्छ। यसै दिन नवान्न (नयाँ अन्न) को हवन गर्ने परम्परा छ ।
पञ्चांगहरूमा आज ३४ घडी ४१ पला अर्थात् बेलुकी ८ बजेर २४ मिनेटसम्म एकादशी रहेको उल्लेख छ । आजको दिन काठमाण्डौ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाण्डौका शेष नारायण र इचङ्गुनारायण लगायतका ठाउँमा विशेष मेला लाग्दछ ।
आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । सबै नारायण मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । मेला लाग्ने ठाउँका पालिकाहरुले आज सार्वजनिक बिदा दिएका छन् ।
तपाईको प्रतिक्रिया