00:00:00
शिक्षा

नोवेल एकेडेमीद्वारा छैठौं माष्टर एण्ड मिसेस नोवेल आइकन सम्पन्न

मंगलबार फाल्गुण २९, २०८०/ Tuesday 03-12-24

 

तिलोत्तमा । फागुन २९ गते । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १५ कोटिहवास्थित नोवेल इन्भारमेन्ट एकेडेमीद्वारा आयोजित छैठौं माष्टर एण्ड मिसेस नोवेल आइकन सम्पन्न भएको छ । सोमबार सम्पन्न प्रतियोगिता अन्तर्गत प्रि प्राइमरी लेवलको पुरूष तर्फ हिमान्सु आले र महिला तर्फ सायरा राना विजेता बनेका छन् । प्राइमरी लेवलको महिला तर्फ एन्जल गिरी र पुरूष तर्फ युनिश अधिकारी विजेता घोषित भए ।

त्यस्तै बेसिक लेबलबाट महिला तर्फ अनुस्का कुँवर र पुरूष तर्फ सफल जिमी विजेता बन्न सफल भएका छन् । नोवेल इन्भारमेन्ट एकेडेमीका अध्यक्ष पुर्ण बहादुर गुरूङको सभापतित्व र घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय सदस्य बसन्त रोका क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रोका ले यस्ता प्रतियोगिताले विद्यार्थीमा अन्तरनिहित क्षमताको उजागर हुने बताए ।

विद्यार्थीको भविष्यको गन्तव्य प्रि प्राइमरी लेवलबाटै तय हुने भन्दै उनले सानै उमेरमा हुने असल संंगत र अभ्यासलेनै विद्यार्थीको भविष्य उज्ज्वल हुने उल्लेख गरे । असल संगत र तालिमले आफू किसानबाट उद्योगी बन्न सफल भएको बताउदै उनले आफुले एक विद्यार्थीको अभिभावकत्व लिने घोषणा समेत गरे । नीति निर्माताले राम्रो नीति निर्माण नगर्दा निजी विद्यालय र उद्योगहरू मर्कामा परेको बताउदै रोका ले नीति निर्माताले सहि नीति ल्याउन सके नेपालमै युवाहरूको भविष्य रहेको धारणा राखे ।

कार्यक्रममा पशुपति क्याम्पस कोटिहवाका क्याम्पस प्रमुख जित बहादुर रास्कोटी, पशुपति मा वि का प्रधानाध्यापक बेदनारायण भट्टराई,गुरूङ समाज मधवलीयाका पुर्व अध्यक्ष गजबहादुर गुरूङ लगायतले विद्यार्थीहरूले प्रदर्शन गरेको क्षमताले एकेडेमीको शैक्षिक र अन्य क्षमता उजागर गरेको भन्दै एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूको भविष्य उज्ज्वल हुने विश्वास ब्यक्त गरे ।

नोवेल इन्भारमेन्ट एकेडेमीका कार्यकारी निर्देशक सुन्दर गुरूङ र प्रिन्सिपल खिनु गुरूङले कुनै पनि विद्यार्थी शून्य र सतप्रतिसत नहुने भन्दै सबै विद्यार्थीमा कुनै न कुनै क्षमता हुने भएकोले हरेक विद्यार्थीमा रहेको फरकफरक क्षमताको उजागर गर्न यस्तो प्रतियोगिता आयोजना गरिएको जानकारी गराए । प्रतियोगिताको निर्णायक मण्डलामा बास्तविकता श्रीवास्तव र निराज बरई रहेका थिए ।

तपाईको प्रतिक्रिया