00:00:00
स्थानिय

मक्रहर गुणस्तर बिउ उत्पादन कृषक समूहद्धारा ५ लाख ४१ हजार बराबरको कृषि औजार वितरण 

आइतबार जेठ १३, २०८१/ Sunday 05-26-24


तिलोत्तमा १० जेठ ,बिन्दु भट्टराई
मक्रहर गुणस्तर बीउ उत्पादन कृषक समूह तिलोत्तमा १२ ले उन्नत धानखेती कृषक तालिम तथा कृषिऔजार वितरण गरेको छ । बुधबारदेखि सुरु भएको तालिम समापनका अवसरमा ३५जना कृषकलाई शुक्रबार विभिन्न कृषि सामग्री बितरण गरेको हो । तिलोत्तमा नगरपालिकाको संघीय ससर्त कृषि विकास कार्यक्रम अन्तर्गत रहेर मक्रहर बिउ उत्पादन कृषक समूहलाई ५० प्रतिशत अनुदानमा पन्ध्रओटा पानी तान्ने इलेक्ट्रिक मोटर, दुइओटा डिजेल मोटर, स्प्रे दशओटा , एउटा हाते ट्याक्टर, ४०बोरा प्राङ्गारिक मल, हर्दिनाथ ६ धानको २ बोरा  मूल बिउ, किटनाषक औषधि लगायतका ५ लाख ४१ हजार बराबरको कृषि औजार वितरण गरिएको  मक्रहर गुणस्तर बीउ उत्पादन कृषक समूहका अध्यक्ष तथा कार्यक्रमा संयोजक कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा १६ लाख १६ हजार लागत मध्ये कृषक समुहले करिव १० लाख बराबरको  अनुदान पाउने तिलोत्तमा कृषि शाखा प्रमुख  दोमलाल भुसालले बताउनुभयो । जसमध्ये उत्पादन सामग्री खरिद, सिंचाई पुर्वाधार निर्माण तथा मर्मत ,धानको बृहत क्षेत्र प्रदर्शनी,प्रविधि हस्तान्तरण,सार्वजनिक सुनुवाई,बोर्ड निर्माण र व्यवस्थापन गरी १० लाख अनुदान रहेको भुषालले स्पष्ट पार्नुभयो ।  भुसालले तिलोत्तमामा नौलो विधि अपनाएर कृषि गरेको छ भन्ने उदाहरणीय काम गर्न सुझाव दिनुभयो ।

वडा नंबर १२ का वडा अध्यक्ष सहदेव थारुले कृषकलाई तालिम गोष्ठि भन्दा विउ मल उपलब्ध गराउन सके किसानलाई लाभ मिल्ने धारणा राख्नुभयो । करिब ९० कृषक सहभागी तीन दिने तामिममा कृषक गोमादेवी थारुले कृषि पेशाबाटै जीविकोपार्जन गरिरहेको अवस्थामा कृषक समुहले गरेको कार्यक्रम र तिलोत्तमा नगरपालिकाले गरेको समन्वयका लागि धन्यवाद दिनुभयो । उहांले बिउमा लाग्ने किटाणुहरुबाट उत्पादन कम हुने जानकारी पाउंदा खुसी लागेको बताउनुभयो । 
 

तपाईको प्रतिक्रिया