झरना फुटबल प्रतियोगिताको ३६ औ संस्करण असोज २ गतेबाट शुरु हुदै
तिलोत्तमा । असोज १ गते । झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको ३६ औ संस्करण यही असोज २ गतेबाट शुरु हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक झरना स्पोर्टस क्लबका अध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिनुभयो ।
स्वर्गिय खगी गुरुङसेनीको पुण्यस्मृतिमा तिलोत्तमा नगरपालिकाको कुन्जलापुरस्थित उमा आधारभुत विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा यसपटक दर्शकको सुविधालाई मध्यनजर राख्दै स्थाई प्याराफिट निमार्ण गरिएको पौडेलले बताउनुभयो ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष धनेन्द्र पौडेल, क्लबका पूर्व अध्यक्ष एवं संरक्षक लोक पुन, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, खेल संयोजक बिजय पुन, सचिव मोहनसिह राना, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल लगायतले रनिङशिल्ड सार्वजनिक गरेका छन ।
प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख ३१ हजार रुपैया, रनिङशिल्ड, प्रमाणपत्र र मेडलबाट पुरस्कृत हुनेछ भने उपविजेता टिमले नगद रु १ लाख ८१ हजारसँगै कप मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यसैगरि सेमिफाईनलमा प्रवेश गर्ने दुई टोलीलाई जनही नगद २५ हजार रुपैयाका दरले पुरस्कार प्रदान गरिनेछ । साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई ३ हजार र ट्रफि, विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई १० हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद रु १५ हजार रुपैया प्रदान गरिनेछ ।
प्रतियोगिता सम्पन्न गर्न कुल २२ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा आयोजक झरना स्पोर्ट्स क्लब लगायत १६ टिमले प्रतिस्पर्धा गर्दैछन । क्लबका पूर्व अध्यक्ष लोक पुनले पार्किङ बापत प्राप्त हुने रकमबाट ब्लड क्यान्सरको उपचार गरिरहेका युवा खेलाडी अंकितलाई सहयोग गरिने जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया