आयोजकलाई स्तब्ध पार्दै लिस्नुद्धारा झरना रनिङ शिल्डको उपाधि कब्जा
आयोजक झरना स्पोर्ट्स क्लव उपविजेता मै सिमित
प्रकाश पाण्डे । असोज १९ गते । आयोजक झरना स्पोर्ट्स क्लवलाई स्तब्ध पार्दै लिस्नु युवा क्लव कोटीहवाले ३६ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि कब्जा गरेको छ । शनिबार तिलोत्तमा ६ कुन्जलापुरस्थित उमा आधारभुत विद्यालयको मैदानमा सम्पन्न फाइनल प्रतिस्पर्धामा आयोजक झरना क्लबलाई १–० गोल अन्तरले हराउदै लिस्नुले ३ लाख ३१ हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।
उपविजेता मै चित्त बुझाएको आयोजक झरना स्पोर्ट्स क्लबले भने नगद रु १ लाख ८१ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलका थिए । दोस्रो हाफको १३ औं मिनेटमा झरनाका लागी विदेशी खेलाडी डोकु इजरेलले लिस्नुका ओहेनेवा ओडुसी पोकु हेनरीलाई डिबक्समा लडाएपछि पाएको फउल स्वरुपको पेनाल्टीलाई कप्तान एन्जल महर्जनले गोल पोष्टको दिशा देखाउदै जाली चुमाएपछि सोही गोल नै निर्णायक बन्न पुग्यो ।
लिस्नु युवा क्लव कोटीहवाले पहिलो पटक झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी कब्जा गरेको हो । यसअधि पाएका दर्जन बढी अवसरलाई गोलमा परिणत गर्न नसक्दा आयोजक झरना स्पोर्ट्स क्लवले उपविजेता मै चित्त बुझाउन बाध्य भयो । प्रतियोगितामा झरनाका जितेश गुरुङ सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए । उनले नगद रु १५ हजार पुरस्कार पाए ।
त्यस्तै, झरनाका कुलदीप क्षत्री बेस्ट डिफेन्डर, लिस्नुका विशाल केसी उत्कृष्ट गोलरक्षक, झरनाका सन्तोष खत्री उत्कृष्ट मिडफिल्डर, लिस्नकाु सुशील राईले उत्कृष्ट स्ट्राइकर तथा बुद्धि पुनले उत्कृष्ट प्रशिक्षक हुदै जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगितामा योङ स्टार मडाहाले फेयर टिमको पुरस्कार पायो भने सेमिफाइनलिस्ट गोर्खा ब्वाइज र जनज्योती एफसीले नगद रु २५÷२५ हजार पुरस्कार पाए । असोज २ गतेबाट शुरु प्रतियोगितामा रुपन्देही जिल्ला भित्र तथा बाहिरका गरि कुल १६ टोलीको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया