तिलोत्तमा १४ सुपौलीमा तेस्रो समपूर्ण कप फुटवल प्रतियोगिता हुँदै
विजेताले उपाधिसहित नगद रु २ लाख २२ हजार २ सय २२ रुपैया हात पार्ने
प्रकाश पाण्डे । मैसीर १ गते । समपुर्ण युवा क्लब, तिलोत्तमा–१४ सुपौलीको आयोजनामा स्व. बस बहादुर शेरपुन्जा पुन तथा दिलकुमारी शेर पुन्जा पुनको स्मृतिमा तेस्रो समपुर्ण कप खुला फुटबल प्रतियोगिता हुदैछ ।
यही मङ्सिर ७ गतेदेखि आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष अबिर पुन पाइजाले जानकारी दिनुभयो । उहाँले तेस्रो संस्करण भएकोले पहिलो र दोस्रो जस्तै यसपाली पनि प्रतियोगितालाई सफल बनाउन आफूहरु तदारुकताका साथ लागिपरेको प्रष्ट पार्नुभयो ।
सुपौली स्थित बाउन्नकोटी सामुदायिक वनस्थित क्लवको आफनै खेलमैदानमा हुने प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको प्रचार प्रसार संयोजक तथा क्लबका सह सचिव रवि अर्यालले बताउनुभयो ।
अर्यालका अनुसार प्रतियोगिता थप रोमाञ्चक हुने अपेक्षाका साथ उत्कृष्ट क्लबहरुलाई मात्रै सहभागि गराइएको जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु २ लाख २२ हजार २ सय २२ रुपैया हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक अशोक पुनले जानकारी दिनुभयो ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा, बोल्दै प्रमुख अतिथि तिलोत्तमा वडा नम्बर–१४ का वडा सदस्य भुपाल छन्तेलले खेल क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा समेत क्लबले पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।
वडाबाट बजेटले भ्याए सम्म सहयोग गरेको बताउदै वहाँले आगामी दिनमा अझै सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । सो अवसरमा जिल्ला फुटबल संघ रुपन्देहीका उपाध्यक्ष मुकेश कुँवर, नेशनल रेफ्री अमर पुन मगर, सहयोगी हिरु प्रसाद शेर पुन्जा पुन लगायतले बोल्नुभएको थियो ।
तपाईको प्रतिक्रिया