00:00:00
स्थानिय

चोरी बालुवा भारत निकासी सीमा क्षेत्रका स्थानीय र प्रहरी बीच सधैं लफडा

शनिबार पौष २०, २०८१/ Saturday 01-04-25


हरि शर्मा
परासी- २०८१ पौष २०

  चोरी गरी ल्याइएका नदीजन्य पदार्थ (बालुवा) को विषयमा नवलपरासीको सुस्ता गाउँपालिकाको सीमा क्षेत्रमा सधैं प्रहरी र स्थानीयको लफडा हुने गरेको छ ।

नारायणी नदीबाट बालुवा चोरी गरी लैजादैं गरेको अवस्थामा हरेक दिनजसो सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले पक्राउ गर्ने गरेको छ । तर, पक्राउ गरेका बालुवा बोकेका टेक्टरलाई छुटाउन कारोबारीहरुले केही स्थानीयलाई प्रयोग गरेर प्रहरीलाई घेरा हाल्न पठाउने गरेको पाइएको छ ।

 सुरक्षकर्मी भन्दा स्थानीय धेरै भएपछि पक्राउ परेका टेक्टरलाई त्यसै छाडेर आउने गरिएको छ । कारोबारीहरुले त्यसरी नदीबाट निकालेका बालुवाहरु सीमा नाका हुँदै भारततर्फ पठाउने गरेका छन् । केही दिनअघि सुस्ताको रेवारेतामा ५ पटकसम्म बालुवा चोरी गरेर लैजादै गरेको अवस्थामा टेक्टर पक्राउ परेपनि स्थानीयले घेरा हालेर सुरक्षाकर्मीबाट फुत्काएर लगेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताउनुभयो  ।

  नदीजन्य पदार्थ बोकेर आएका टेक्टरलाई समात्ने बित्तिकै केही स्थानीयहरु घरेलु हतियारसहित प्रहरीलाई घेर्न आउँने गरेको उहाँको भनाई छ ।यसैबीच बालुवा चोरी गरी भारततर्फ लैजान लागेको अवस्थामा शनिबार बिहान सुस्ताको वनकट्टी सीमा क्षेत्रबाट ५ टेक्टर बालुवा नियन्त्रणमा लिइएको छ । सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले उक्त बालुवा नियन्त्रणमा लिएको हो । त्यस क्रममा पनि केही स्थानीयहरुले बालुवा छोडाउन सुरक्षाकर्मीलाई अवरोध गरेको सशस्त्र प्रहरीको बर्डर आउट पोस्ट (बिओपी) बलिनगरका निरीक्षक सुवास अधिकारीले बताउनुभयो ।

 पक्राउ परेका ५ टाली बालुवामध्ये २ वटा टालीको टायरको हावा खोलेका कारण ३ टाली बालुवा मात्र ल्याउन सकिएको सशस्त्र प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । यसैबीच स्थानीयले सुरक्षाकर्मीलाई अवरोध गरेर चोरी सामान लैजाने गरेको बारे प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले हुलका हुल आउने स्थानीयलाई सम्झाउने पहिलो काम स्थानीय तहको भएको बताउनुभयो ।

  अवरोध गर्ने मान्छे समातेर ल्याउँदैमा समस्या समाधान नहुने भन्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले स्थानीय तहले त्यसमा समन्वय गर्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया