बुटवल- २०८१ माघ १२
बुटवलबाट लुम्बिनीका लागि सिधा बस सञ्चालन भएको छ। पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले बुटवलबाट तिलोत्तमा भैरहवा हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म सिधा बस सञ्चालनमा ल्याएको हो।
सार्वजनिक यातायात प्रयोगकर्ताहरुले विहानको समयमा अब एउटै बसमा बुटवलबाट लुम्बिनीसम्म पुग्न सक्नेछन्। यस अघि लुम्बिनी जान भैरहवासम्म एउटा बसमा गएर त्यहाँबाट अर्को बस चढ्नुपर्ने झन्झट गर्नुपर्दथ्यो। सिधा बस चलेपछि बुटवलबाट लुम्बिनी घुम्न जानेहरुको लागि पनि सहज भएको छ। साथै नियमित ओहोरदोहोर गर्ने शिक्षक कर्मचारीहरुलाई पनि सजिलो हुने छ।
बुटवलको गोलपार्कबाट प्रत्येक दिन विहान ८ः १५ मा लुम्बिनीको लागि बस छुट्ने पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का बुटवल भैरहवा रुट संयोजक सूर्यप्रकाश ढुंगानाले जानकारी दिनुभयो ‘विहान सवा ८ बजे गोलपार्कबाट गाडी छुट्छ। यात्रुहरु लुम्बिनी लेखेको गाडीमा चढ्न सक्नुहुने छ।
साढे ८ बजे राजमार्ग चौराहबाट छुट्छ। यही समयलाई आधार मानेर तिलोत्तमा क्षेत्रका यात्रुहरुले गाडी पर्खिन सक्नुहुन्छ।’ ढुंगानाले ‘यस्तै लुम्बिनीबाट ११ बजे बुटवलको लागि बस छुट्ने छ। अर्को बस ४ बजे छुट्ने छ।’ सुरुमा कार्यालय समयलाई आधार मानेर बुटवल लुम्बिनी सिधा बस सञ्चालन गरिएको ढुंगानाले बताउनुभयो । यात्रुको चाप बढ्दै गएमा यो रुटमा पर्यटनमैत्री स्तरिय गाडी सञ्चालन हुने वहाँले जानकारी दिनुभयो।
नेपालको प्रमुख शहर मध्ये एक बुटवल र अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य लुम्बिनी रुपन्देही जिल्लामै पर्दछ। बुटवलबाट लुम्बिनीको दुरी ४२ किलोमिटर छ। तर एउटै जिल्लाका दुई महत्वपूर्ण ठाउँलाई सिधा सार्वजनिक यातायातले जोडेको थिएन।
बुटवलबाट लुम्बिनी सिधा सार्वजनिक यातायात सञ्चालन गर्नुपर्छ भन्ने आवाज बेला बेलामा उठीरहेको थियो। सिधा बस सञ्चालन भएपछि अब बुटवल र लुम्बिनीमा पर्यटकीय ओहोरदोहोर बढ्ने आशा गरिएको छ।
तपाईको प्रतिक्रिया