दिवाकर पन्थी । तिलोत्तमा नगरपालिकाको चालु आर्थिक वर्षको नगर विकास योजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शीर्षकमा विभिन्न तालिमका कार्यक्रमहरु समावेश छन् । विभिन्न तालिम शीर्षकसँग जोडिएको छ—महिलासँग उपमेयर कार्यक्रम । चालु आर्थिक वर्षमा महिलासँग उपमेयर कार्यक्रमअन्तर्गत् विभिन्न नौ ओटा तालिम राखिएको छ । चारपाङ्ग्रे ड्राइभिङ्ग तालिम, ब्युटी पार्लर एड्भान्स तालिम, ब्याग बनाउने एड्भान्स तालिम, हेयर कटिङ्ग तथा नेल एक्सटेन्सन तालिम महिलासँग उपमेयर कार्यक्रममा राखिएको छ ।
यस्तै नौमती बाजा तालिम तथा बाजाको सामग्री खरिद, माइन्युट लेखन तथा उद्घोषण तालिम, ईरिक्सा चलाउने तालिम, सफ्टवेयर डेभलपमेन्ट तालिम, फोटोग्राफी र भिडियोग्राफी तालिम पनि महिलासँग उपमेयर कार्यक्रममा समावेश गरिएको छ । महिलासँग उपमेयर कार्यक्रमअन्तर्गतका तालिम शैक्षिक योग्यता, जाँगर र केही गर्ने हुटहुटी भएको तर सीप नभएका महिलाहरूका लागि राखिएका हुन् । चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्म धेरैजसो तालिमहरु सञ्चालनमा आएका छन् । केही तालिम सञ्चालनको क्रममा छन् ।
उपप्रमुख जागेश्वरी चौधरी महिला सशक्तिकरणसँगै उनीहरूमा सीप विकास गरेर आयआर्जनका कार्यमा अग्रसर बनाउन मागको आधारमा यस प्रकारका तालिमका लागि नगर विकास योजनामा व्यवस्था गरिएको बताउनुहुन्छ । नगरपालिकाले महिलाहरूलाई उद्यमसँग जोड्न महिलासँग उपमेयर कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरा दिएको हो । २०७४ को स्थानीय तह निर्वाचनबाट यो नगरपालिकामा जागेश्वरी चौधरी उपप्रमुख हुनुहुन्छ । उहाँको विशेष पहलमा नगरमा निरन्तर यो कार्यक्रम सञ्चालनमा छ । यसको प्रमुख उद्देश्य हो—महिलालाई उद्यमसँग जोड्नु । तालिम केवल औपचारिक तालिमको रूपमा नराखी त्यसलाई उद्देश्यमुलक बनाउन यो कार्यक्रम सञ्चालन भएको छ ।
यो कार्यक्रमले इच्छाशक्ति भएका महिलाहरू उद्यमसँग जोड्न सहयोग गरेको छ । महिलाहरूको सशक्तिकरणको लागि उनीहरूलाई आर्थिक रूपमा पनि सबल बनाउनुपर्ने आवश्यकतालाई महशुस गरी यो कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख चौधरी बताउनुहुन्छ । यो कार्यक्रमअन्तर्गत लामो अवधिको तालिम सञ्चालन गरिन्छ । नगरस्तरीय तालिममा सहभागिताको लागि सूचनामा इच्छुकहरूलाई आह्वान गरिन्छ । इच्छुकले तालिममा पूरा अवधि सहभागी बन्ने, सीप सिकेपछि त्यसलाई व्यवहारमा कार्यान्वन गर्ने प्रतिबद्धता जनाउनुपर्ने हुन्छ ।
सीपमा पारङ्गत बनाउने गरी तालिम दिने गरिएको छ । सीप सिकेकाहरू कतिपयलाई त नगरपालिकाले सहुलितय दरमा कर्जाकोसमेत व्यवस्था मिलाइदिएको छ । नगरपालिकाले महिलाहरूलाई गत आर्थिक वर्षमा एडभान्स लेबलको फेसन डिजाइनिङ्ग, सिलाई कटाई, ब्युटीपार्लर, लेखा, लोकसेवा तयारी, कम्प्युटरलगायतका विभिन्न तालिम सञ्चालन गरेको थियो । चालु आर्थिक वर्षमा नगरपालिकाले महिलासँग उपमेयर कार्यक्रम सञ्चालनको लागि २४ लाख बजेट विनियोजन गरेर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
नगरपालिकाले यसअगि तालिम लिएकाहरूलाई नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा सहुलियतमा कर्जा दिने व्यवस्था मिलाएको थियो । नगरपालिकाले सिलाइकटाई, चुरा बनाउने, अचार बनाउने, ब्युटीपार्लर, कुकिङ, व्यावसायिक खेती, इलेक्ट्रिक वायरिङ, प्लम्बिङलगायत धेरै प्रकारका व्यावसायिक सीप यसै कार्यक्रममार्फत् सिकाइसकेको छ । नगरपालिकाबाट विभिन्न खाले सीपमूलक तालिम लिएका धेरै युवा स्वरोजगार बनेका छन् । केहीले उद्यम थालेर आफै रोजगारी सिर्जना समेत गरेका छन् । उद्यममा लागेकालाई प्रोत्साहन गर्न नगरपालिकाले उद्यमी महिला प्रोत्साहन कार्यक्रमसमेत ल्याएको छ ।
तपाईको प्रतिक्रिया