00:00:00
स्थानिय

समयमा कार्य सम्पन्न गर्ने निर्माण व्यवसायी राज कुमार यादवलाई उद्यमशिल टोलविकास संस्थाद्धारा सम्मान

सोमबार श्रावण ६, २०८२/ Monday 07-21-25

बिन्दु भट्टराई, तिलोत्तमा ५ साउन ।

पछिल्लो समयमा साना देखि ठुला सम्मका योजना निर्माण व्यवसायीको लापर्वाहीका कारण अलपत्र परेको तथा समय भन्दा ढिलो सम्पन्न गर्ने समस्या बढ्दो छ तर तिलोत्तमा १० उद्यमशिल टोलविकास संस्थाको ३ सय मिटर सडक १ महिनार्मै सम्पन्न भएको छ । गत जेठ १२ गते सुरु गरिएको उक्त सडक असार १५ गते सम्पन्न भएको हो ।

 यसैसन्दर्भमा समयमा कार्य सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी राज कुमार यादवलाई उद्यमशिल टोलविकास संस्थाले सम्मान गरेको छ ।  संस्थाले करिब ४० लाख रुपैयांको निर्माण कार्य एक महिनामै सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी यादवलाई एक औपचारिक कार्यक्रम नै गरी सम्मान गरेको हो ।

त्यसै अवसरमा बोल्दै प्रमुख अतिथि टोलवासी एवं लुम्बिनी प्रदेशका पुर्व योजना आयोग सदस्य डा. दामोदर भुसालले राम्रो काम गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहनका लागि सम्मान गरिएको बताउनुभयो ।  डा. भुसालले । विकास निर्माणमा स्थानीय बासिन्दाको यथोचित सहभागिता र निगरानी सुनिश्चित गर्न यस्ता कार्यक्रमले मुख्य भुमिका खेल्ने विश्वास व्यक्त गनुभयो । वजेट विनियोजन हुने तर कार्यान्वयनमा ढिलाई हुने अनि स्थानीयवासी सम्बन्धित कार्यालयमा धाइरहनुपर्ने गलत परिपाटी अन्त्य हुनुपर्नेमा समेत जोड दिनुभयो ।  

उहाँले उद्यमशील टोल नाममा मात्र नभई व्यवहारमै उद्यमी उत्पादन गर्ने उद्यमीको सम्मान गर्ने टोल रहेको दाबी गर्नुभयो । उद्यमशील टोलका हरेक परिवार करेसाबारी, कम्तीमा एक घार मौरी र खेतमा धानसंगै हांस पालनमा संलग्न हुंदै गएको भन्दै यहाँको उत्पादनलाई टोलमै खपत गर्ने योजनाका साथ होम स्टेको परिकल्पना गरेको बताउनुभएको छ ।

भुसालले तिलोत्तमा नगरलाई प्रांगारिक नगरका रुपमा पहिचान दिलाउन नगरपालिकाले प्राथमिकतामा राख्नुपर्ने सुझाव समेत दिनुभयो ।

कार्यक्रममा तिलोत्तमा १० का वडाध्यक्ष गोपालप्रसाद घिमिरे, तिलोत्तमा नगरपालिकाका वरिष्ठ इन्जिनियर प्रदीप वन, टोल विकास संस्थाकी कार्यवाहक अध्यक्ष सरगम विक पौडेल,सचिव रामबहादुर पुन, टोलका पुर्व अध्यक्ष घनसिंह पुन, निर्माण व्यवसायी राजकुमार यादव लगायतले आफ्ना भनाई राखेका थिए । वक्ताहरुले टोलको बांकी रहेको सडकमा पनि फुटफाथ निर्माणमा सबैको ध्यान जानुपर्ने बताएका थिए ।

डा. भुसाल टोलमा आएपछि टोलको विकासले फड्को मार्दै गएको भन्दै टोलवासिले भुसालको प्रसंशा समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया