तिलोत्तमा । साउन १६ गते । तिलोत्तमा ७ भलवारीस्थित लिटिल प्याराडाइज इङलिश मिडियम स्कुलमा १ दिने नि:शुल्क दन्त शिविरको आयोजना गरिएको छ । बालबालिकाहरुलाई दाँत मुख र गिजाप्रति स्वस्थ सचेतना जगाई जागरुक बनाउने उद्धेश्य सहित युसिएमएस भैरहवाको प्राविधिक सहयोग तथा लिटिल प्याराडाइजको आयोजनामा शुक्रबार विद्यालय परिसरमा दाँत शिविरको आयोजना गरिएको हो ।
शिविरको उद्धघाटन गर्दै विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले विद्यालयले हरेक बर्ष नि:शुल्क दन्त शिविरको आयोजना गर्दै आएको बताए । उनले कक्षा पिजीदेखि १० सम्म अध्ययरत ७५० जना विद्यार्थीहरुले नि:शुल्क दन्त परिक्षणमा उत्साहपुर्वक सहभागिता जनाएको बताए । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजबाट आएका दन्त चिकित्सक सहितको टोलीले दाँत, मुख र गिजाको चेकजाँच गर्दै सही ढंगले नियमित सरसफाई गरे दाँत सम्बन्धि गंभीर खाले स्वास्थ्य समस्याबाट बच्न सकिने बताएका छन् ।
साथै चिकित्सकहरुले दाँत, मुख र गिजामा गंभीर समस्या भए तत्काल चिकित्सककोमा जान परामर्श समेत दिए । विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीको अध्यक्षतामा सम्पन्न नि:शुल्क दन्त शिविरमा युसिएमएसका असिटेण्ट प्रोफेसर डा सुबोध कुमार, सहप्राचार्य मोहन डंगोरिया थारु, शैक्षिक संयोजक नवराज रेग्मी, सुष्मा हमाल शिक्षक, कर्मचारी, विद्यार्थी एवं प्राविधिक लगायतको सहभागिता रहेको थियो । परिक्षणका क्रममा थप उपचार आवश्यक रहेका विद्यार्थीहरुलाई पहेलो कार्ड वितरण गर्दै एक महिनाभित्र युसिएमएस गए उपचारमा विशेष छुटको ब्यवस्था गरिएको जानकारी गराइएको छ ।
तपाईको प्रतिक्रिया