सबैको सहकारीको अध्यक्षमा पुनः भुसाल
सम्भावित जोखिम बारे चिन्तन गरिने
तिलोत्तमा । सबैको वचत तथा ऋण सहकारी संस्था लि.को चौथो साधारणसभाबाट भरतराज भुसालको नेतृत्वमा सर्वसम्मत नयां कार्यसमिति चयन गरिएको छ । सहकारीको उपाध्यक्षमा सुकबहादुर नेपाली,सचिव हिमकला ओस्ती र कोषाध्यक्षमा टिकाराम न्यौपाने निर्वाचित हुनुभएको छ ।
यस्तै कार्यसमिति सदस्यहरुमा विष्णुप्रसाद पाण्डेय,भगवती भट्टराई,शारदा खत्री,चन्द्रकुमारी थापा र इश्वरीप्रसाद पाण्डे , लेखा समिति संयोजकमा हरिप्रसाद न्यौपाने, सदस्यहरुमा मिरा पाण्डेय र रामप्रसाद खरेल चयन भएका निर्वाचन उपसमिति संयोजक कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।
साधारणसभाको उद्घाटन समारोहमा अध्यक्षको प्रतिवेदन पेश गर्दै भरतराज भुसालले ११ वटा सहकारीबीच एकीकरण भएर बनेको सहकारीले शेयर सदस्यहरुसंग निरन्तर संवाद र छलफल गरी उनीहरुको राय सुझावका आधारमा अघि बढ्दा सफलता हासिल गरेको दाबी गर्नुभएको छ । भुसालले नियामक निकायको निर्देशन अनुसार काम गरेकाले सबैको सहकारी लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारीका रुपमा सरकारबाट पुरस्कृत भएको अध्यक्ष भुसालले बताउनुभयो । उहाँले व्यवस्थित सहकारी स्तरीय सेवा नारालाई व्यवहारमा उतारेर संस्था अघि बढेको उल्लेख गर्नभयो । १० करोड ४८ लाख ८० हजार शेयर पुंजी रहेको सहकारीले शेयर सदस्यलाई नियमित वचत गर्न प्रोत्साहन गरेको र कर्जा लगानी संस्थाको नीति र विधिमा रहेर मात्र गर्दा सहकारीमा खराब कर्जा नरहेको अध्यक्ष भुसालको भनाई छ । संस्थाले सम्भावित जोखिम बारेमा पुर्वानुमान,तयारी र न्यूनिकरणका बारेमा निरन्तर चिन्तन गरिरहने अध्यक्ष भुसालले स्पष्ट पार्नुभयो ।
सचिव देवानन्द पाण्डेले वार्षिक प्रतिवेदन पेश गर्नुभएको साधारणसभामा सहकारीका सल्लाहकारहरु रामचन्द्र ढकाल, राजेन्द्रप्रसाद सुवेदी, निर्वाचन उपसमिति संयोजक कृष्णप्रसाद नेपाल, अरुणोदय सहकारीका सचिव पिताम्बर अर्याल,डा. मुरारी पराजुली उपाध्यक्ष चुरामणि पाण्डे लगायतले आफ्ना धारणा राख्नुभएको थियो । सहकारीमा ८ हजार ४४ जना शेयर सदस्य रहेका छन् ।
तपाईको प्रतिक्रिया