00:00:00
स्थानिय

रामजानकी मन्दिर तिलोत्तमा ९ मंगलापुरमा महापुराण तथा महाआरती हुने

बिहीबार माघ १६, २०८२/ Thursday 01-29-26

तिलोत्तमा । माघ १५ गते । रामजानकी शिव मन्दिर (कुटी) मा यही  माघ १७ गतेबाट श्रीमतद्भागवत महापुराण तथा श्रृगारिक महाआरती २०८२ हुने भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ मंगलापुरमा रहेको अति पुरानो र चर्चित धार्मीक तथा पर्यटकीय स्थलका रुपमा रहेको श्री रामजानकी शिव मन्दिर (कुटी) मा हुने श्रीमतद्भागवत महापुराण तथा श्रृगारिक महाआरती २०८२ तयारी धुमधामका साथ भैरहेको बिहिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

यही माघ १७ गतेदेखि २३ गतेसम्म संचालन हुने महापुराण तथा महाआरतीको बारे जानकारी दिन बिहीबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी आयोजक रामजानकी शिव मन्दिर एवं यज्ञ सम्पादन मूल समितिले यसबारे जानकारी गराएको हो । समितिका अध्यक्ष खेमेन्द्र रानाले यो तेस्रो पटक गर्न लागिएको महापुराण तथा महाआरतीको सात दिनको अवधिमा विभिन्न धार्मिक कार्यक्रमहरु गरिने जानकारी दिनुभयो । यो अवधिमा कथावाचक पण्डित चन्द्रकान्त काफ्लेले श्रीमद्भागवत कथा बाचन गर्ने तथा राष्ट्रियस्तरका कलाकारबाट झाँकीसहित भजन कृतन गरिने उहाँले बताउनुभयो ।

अध्यक्ष रानाका अनुसार भक्तजनको इच्छा अनुसार दैनिक यज्ञमण्डप पुजा, ग्रहशान्ति, व्रतबन्ध, लघुरुद्री तुलादान, लक्ष्यवत्ती तथा सम्पूर्ण कर्मकाण्डीय कर्महरु गरिने छ । धार्मिक पर्यटनको केन्द्र भएकाले यसको यस स्थलको स्तरोन्नतिको लागि पनि महापुराण आयोजना गरिएको रानाले बताउनुभयो । कथावाचक पण्डीत चन्द्रकान्त काफ्लेले कुटी भनेर चिनिने तिलोत्तमा ९ स्थित रामजानकी मन्दिर स्थलमा १०८ पिपलका बुटा रहेको भन्दै यहाँ ध्यान गर्ने र जल चढाउन आउने भक्तजनको लागि पनि महापुराण तथा महाआरतीको कार्यक्रमले थप सहज गराउने उल्लेख गर्नुभयो । आयोजक समितिका पूर्व अध्यक्ष गणेश शर्माले मन्दिरको ऐतिहासिक गरिमाबारे चर्चा गर्नुभयो ।

महापुराण संचालनबाट प्राप्त हुने आर्थिक रकमले यस स्थानमा दिब्यधाम तथा पूर्वाधार निर्माणको काम गरिने उहाँले उल्लेख गर्नुभयो । समितिका सचिव धिरज पुन मगरले महापुराण अवधिभर हुने धार्मिक गतिविधिमा सहभागी हुन तथा दानवीर दाताहरुलाई दैनिक अवलोकन समेत गरिदिनुहुन आग्रह गर्नुभयो । ऐतिहासिक तथा धार्मिक पर्यटनको केन्द्र बनेको यस मन्दिर स्थलमा सबैले आएर पुण्यलाभ गरिदिन उहाँको आग्रह छ । मन्दिर परिसरमा सरसफाई, साजसज्जा तथा यहाँ रहेको पाँचकुने पोखरीमा पानी भरेर आरतीको लागि तयारीका काम जारी रहेको उहाँले जानकारी दिनुभयो ।
 

तपाईको प्रतिक्रिया