00:00:00
स्थानिय

जनभावना माविलाई रु. २ लाख १० हजार बराबरका चिसो खानेपानी मेसिन हस्तान्तरण

शनिबार चैत २१, २०८२/ Saturday 04-04-26

तिलोत्तमा । चैत्र २१ गते  — रुपन्देहीको तिलोत्तमा नगरपालिका–८, दीपनगरस्थित श्री जनभावना माध्यमिक विद्यालयलाई समाजसेवी तथा अक्षयकोषदाता परिवारबाट चिसो खानेपानी मेसिन सहयोग प्रदान गरिएको छ । तिलोत्तमा वडा नं. ८ निवासी अक्षयकोषदाता छम बहादुर खत्री र मायादेवी खत्रीको परिवारले विद्यालयलाई रु. २ लाख १० हजार बराबरका दुई थान चिसो खानेपानी मेसिन (वाटर कूलर) उपलब्ध गराएको हो ।

उक्त सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खत्री, प्रधानाध्यापक शम्भु प्रसाद पराजुली, व्यवस्थापन समितिका सदस्यहरू, शिक्षकहरू तथा संचारकर्मीको उपस्थितिमा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. ८ का सदस्य कमलकान्त गौतम र अक्षयकोषदाता छम बहादुर खत्रीले संयुक्त रूपमा मेसिन उद्घाटन गरेका थिए ।

सोही अवसरमा खत्रीले मेसिन जडान खर्चका लागि थप रु. ५ हजार बराबरको चेक पनि विद्यालयलाई प्रदान गरेका छन् । विद्यालय परिवारले खत्री परिवारबाट पटक–पटक हुँदै आएको आर्थिक तथा भौतिक सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूको पठनपाठन वातावरण सुधारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । स्थानीय तह र दातृ परिवारको सहकार्यले विद्यालयको समग्र विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा राखिएको छ ।

तपाईको प्रतिक्रिया