00:00:00
स्थानिय

तिलोत्तमाका कतिपय विद्यालयले मनपरी शुल्क लिएको आरोप

ब्यापक जनगुनासो आएपछि नगरपालिकालाई ज्ञापनपत्र बुझाएको रास्वपा भनाई
बिहीबार बैशाख १०, २०८३/ Thursday 04-23-26

तिलोत्तमा । बैशाष १० गते । रूपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सञ्चालित केही निजी तथा सामुदायिक विद्यालयहरूले मनपरि शुल्क लिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी आपत्ति जनाएको छ । सरकारले तोकेको मापदण्डविपरीत भर्ना लगायतका विभिन्न शीर्षकमा शुल्क असुलिरहेको भन्ने गुनासो आएको  भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिलोत्तमा नगर कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार संघीय सांसद मन्जु भुषाल सहितको टोलीले तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाडलाई ज्ञापनपत्र बुझाउदै अभिभावकहरूबाट विद्यालयहरूले मनपरी रूपमा शुल्क उठाइरहेको गुनासो व्यापक रूपमा आएको जनाएको छ । रास्वपा तिलोत्तमा नगर सभापति रुस्तम कंडेलले नगरपालिकाले यस विषयमा के कस्तो रणनीति लिएको छ ? भन्नेबारे स्पष्ट धारणा बुझ्न ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाइएको बताए ।

ज्ञापनपत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०८३ का लागि जारी गरेका परिपत्रहरूको उल्लेख गर्दै स्वीकृत मापदण्डभन्दा बाहिर शुल्क लिन नपाइने स्पष्ट व्यवस्था रहेको औंल्याइएको छ । विशेषगरी २०७२ सालको ‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका’ र २०८२ चैत २२ गते जारी निर्देशनअनुसार नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना लिन पाइने तथा तोकिएको ढांचा भित्र रहेर मात्र शुल्क लिनुपर्ने प्रावधान रहेको जनाइएको छ । तर, तिलोत्तमाका कतिपय विद्यालयहरूले यी निर्देशनहरूको उल्लङ्घन गर्दै सत्र सुरु हुनुअघि नै भर्ना शुल्क असुल्ने, सत्र सुरु भएपछि थप शुल्क वृद्धि गर्ने र परीक्षा, मासिक लगायत विभिन्न शीर्षकमा अत्यधिक शुल्क लिने गरेको गुनासो अभिभावकहरूबाट आएको रास्वपाले जनाएको छ । यसले अभिभावकहरू आर्थिक तथा मानसिक दबाबमा परेको र बालबालिकाको शिक्षामा समेत प्रत्यक्ष असर परेको उनीहरूको भनाइ छ ।

रास्वपाले नगरपालिका समक्ष पाँच बुँदे मागसमेत अघि सारेको छ । जसमा मन्त्रालयका परिपत्रहरूको पूर्ण कार्यान्वयन, गैरकानुनी रूपमा उठाइएको शुल्क फिर्ता वा समायोजन, शुल्क अनुगमन समितिको सक्रियता, सहमतिबिना शुल्क वृद्धि रोक्ने र नियम उल्लङ्घन गर्ने विद्यालयमाथि कडा कारबाही गर्नुपर्ने माग समावेश छन् । स्थानीय तहलाई शिक्षा क्षेत्र नियमन गर्ने संवैधानिक अधिकार रहेको उल्लेख गर्दै रास्वपाले विद्यार्थी र अभिभावकको हित संरक्षणका लागि नगरपालिकाले तत्काल प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेको छ । यता, नगरप्रमुख रामकृष्ण खाडले हालसम्म यस्ता गुनासाहरू औपचारिक रूपमा प्राप्त नभएको बताएका छन् । तर, यदि अभिभावकबाट गुनासो आएमा र ज्ञापनपत्रमा उल्लेख गरिएझैँ अन्धाधुन्ध शुल्क वृद्धि भएको पुष्टि भएमा नगरपालिकाले आवश्यक नियमन गरी कारबाही प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन । यसैबीच, सांसद मन्जु भुषालले नगरप्रमुखसँग तिलोत्तमा क्षेत्रका भौतिक पूर्वाधार, तिनको व्यवस्थापन, उपयोग तथा रेखदेखका विषयमा समेत जानकारी लिएकी थिइन् ।
 

तपाईको प्रतिक्रिया