३० वर्षे शिक्षण सेवापछि शिक्षक तारा गिरिको भावुक बिदाइ: “अझै पनि २० वर्षे युवाको जस्तै जोश छ”
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित न्यु इन्भाइरनमण्ट मावि मा ३० वर्षदेखि निरन्तर अध्यापन गराउँदै आउनुभएका शिक्षक तारा गिरिको आज एक विशेष कार्यक्रमका बीच भावपूर्ण बिदाइ गरिएको छ ।
वि.सं. २०५२ सालदेखि विद्यालयमा अध्यापन सुरु गर्नुभएका तिलोत्तमा–६ पश्चिम पहुनी निवासी शिक्षक गिरिलाई अनिवार्य अवकाशका अवसरमा टिका, कदरपत्र, मायाको चिनो तथा दोसल्ला ओढाएर सम्मानसहित बिदाइ गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल बनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले शिक्षक गिरिको सरल व्यक्तित्व, अनुशासित कार्यशैली तथा विद्यालयको शैक्षिक विकासमा उहाँले पु¥याउनुभएको अतुलनीय योगदानको खुलेर प्रशंसा गरेका थिए ।
आफ्नो बिदाइ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै शिक्षक तारा गिरिले ६० वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश पाएर विद्यालयबाट बाहिरिनुपर्दा भावुक भएको बताउनुभयो ।
उहाँले तीन दशकसम्म निष्ठापूर्वक सेवा गर्न पाएकोमा गर्व महसुस भएको उल्लेख गर्दै आफूभित्र अझै पनि २० वर्षे युवाको जस्तै जोश र जाँगरको अनुभूति भएको बताउनुभयो ।
उहाँले न्यु इन्भाइरनमण्ट माविमा कार्यरत रहँदा पूर्ण इमान्दारिता र समर्पणका साथ काम गरेको स्मरण गर्दै आगामी दिनमा पनि शिक्षकहरू निष्ठावान भएर शिक्षण पेशामा लाग्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका सहप्राचार्य ध्रुव खरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पूर्व पदाधिकारी, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया