00:00:00
खेलकुद

होराइजन जिविएस र गार्गी एकेडेमीलाई अन्तरविद्यालय फुटसल उपाधि

मंगलबार असार ९, २०८३/ Tuesday 06-23-26

तिलोत्तमा । असार ९ गते— बुटवलमा सम्पन्न जिल्ला स्तरीय अन्तरविद्यालय छात्र÷छात्रा फुटसल प्रतियोगिता २०८३ को उपाधि छात्रतर्फ होराइजन जिविएस र छात्रातर्फ गार्गी एकेडेमीले जितेका छन् । स्वर्णिम फुटसल एरिनामा सोमबार सम्पन्न फाइनल खेलमा छात्रतर्फ होराइजन जिविएसले प्यारामाउण्ट बोर्डिङ स्कुललाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा दर्ता ग¥यो। त्यस्तै छात्रातर्फ गार्गी एकेडेमीले नोबल इन्भाइरोमेन्टलाई ३–१ गोल अन्तरले हराउँदै च्याम्पियन बन्न सफल भयो ।
उपाधि जित्ने दुवै टिमले नगद १५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता बनेका टिमहरूले नगद १० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा छात्रतर्फ सिद्धार्थ बोर्डिङ स्कुल तथा छात्रातर्फ कुवरवर्ती बोर्डिङ स्कुल तेस्रो स्थान हासिल गर्दै नगद ५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट सम्मानित भए ।
व्यक्तिगत विधातर्फ ब्रिटिश ग्रामणका अरबिन्द्र आले (छात्र) र कुवरवर्तीका आरूसी सापकोटा (छात्रा) सर्वाधिक गोलकर्ता घोषित भए । यस्तै होराइजनका रिजन थापा (छात्र) र गार्गी एकेडेमीकी दीपिका कार्की (छात्रा) उत्कृष्ट गोलकिपर बने भने प्यारामाउण्टका प्रथम गुरुङ (छात्र) र नोबल इन्भाइरोमेन्टकी अस्मि दर्लामी (छात्रा) उत्कृष्ट खेलाडी घोषित भए ।
पुरस्कार वितरण समारोह जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विष्णु प्रसाद पन्थी, प्याब्सन केन्द्रीय सचिवालय सदस्य खेमेन्द्र राना, प्याब्सन प्रदेश अध्यक्ष लालहरि पाण्डे, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन बुटवल नगर सचिव भुवन अधिकारी, प्याब्सन जिल्ला वरिष्ठ उपाध्यक्ष कुलराज शर्मा र सचिव सचिव बोधराज गौडेल लगायतले गरेका थिए ।

कार्यक्रममा प्याब्सन रुपन्देही जिल्ला अध्यक्ष दीपक खनालले शिक्षा र खेलकुद एकअर्काका पूरक भएको उल्लेख गर्दै खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू अध्ययनमा पनि सक्षम हुने बताए । प्रतियोगितामा छात्रतर्फ ३४ टिम र छात्रातर्फ १० टिमले प्रतिस्पर्धा गरेको संयोजक एनबी क्षेत्रीले जानकारी दिए ।
 

तपाईको प्रतिक्रिया