बैंक ब्याजदर र कर नीतिमा सुधार गर्न तिलोत्तमा व्यापार संघको माग
तिलोत्तमा ।
तिलोत्तमा व्यापार संघले उद्योगी, व्यवसायी तथा उपभोक्तामाथि प्रत्यक्ष असर पार्ने बैंकिङ तथा कर सम्बन्धी नीतिहरूमा सुधार गर्न नेपाल सरकारसमक्ष पहल गर्न नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशलाई आग्रह गरेको छ । संघले चेम्बर अफ कमर्शलाई दुई फरक फरक पत्र बुझाउँदै बैंक तथा वित्तीय संस्थाले नयाँ र पुराना ऋणमा फरक–फरक ब्याजदर कायम गरेको विषयमा एकरूपता ल्याउन र हाल लागू गरिएका केही कर व्यवस्थाको पुनरावलोकन गर्न माग गरेको हो ।
संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा बैंक तथा वित्तीय संस्थाले पुराना र नयाँ ऋणमा फरक ब्याजदर कायम गर्दा व्यवसाय सञ्चालनमा असहजता, असमानता, प्रतिस्पर्धामा असर तथा वित्तीय भार बढेको उल्लेख गरिएको छ ।
पत्रमा विद्युतमा लगाइएको १३ प्रतिशत मुल्यअभिवृद्धि कर (भ्याट)का कारण उत्पादन लागत बढेको जनाउँदै उक्त कर तत्काल खारेज गर्न माग छ । व्यापार संघले पछिल्लो समय बढ्दो उत्पादन लागत, घट्दो व्यापार तथा आर्थिक मन्दीका कारण उद्योग तथा व्यापार क्षेत्र चुनौतीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै व्यवसायी, उद्योगी र उपभोक्ताको हित संरक्षणका लागि सरकारबाट शीघ्र नीतिगत सुधार आवश्यक रहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया