00:00:00
मनोरन्जन

न्यु इन्भाइरन्मण्टमा कक्षा २ को प्रस्तुतिकरण तथा अभिभावक अन्तरक्रिया

मञ्चमा स-साना नानी बाबुहरू, अभिभावकलाई सिकाए आत्मविश्वासको पाठ
बिहीबार भदौ १८, २०८३/ Thursday 09-03-26

तिलोत्तमा । भदौ १८ गते । न्यु इन्भाइरन्मण्ट अंग्रेजी मावि, तिलोत्तमा–५, मणिग्रामले कक्षा २ का विद्यार्थीलाई मञ्च प्रदान गर्दै कक्षागत प्रस्तुतिकरण तथा अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको सभाहलमा बिहिबार आयोजित कार्यक्रममा साना विद्यार्थीहरूले सरस्वती वन्दना, पञ्चशील वाचन, गीत–संगीत, नृत्य, भाषणकला, कविता लगायतका विभिन्न प्रस्तुति मार्फत आफु भित्रको कला र प्रतिभा निखार्ने कोशिश गरेका छन । उमेरले साना भए पनि मञ्चमा देखिएको उनीहरूको उत्साह, आत्मविश्वास र सक्रिय सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो ।

कार्यक्रम केवल मनोरञ्जनमा सीमित थिएन, बालबालिकालाई पाठ्यपुस्तकको सीमाभन्दा बाहिर लगेर बोल्न, प्रस्तुत हुन, सहकार्य गर्न, नेतृत्व लिन र आफ्नै प्रतिभा पहिचान गर्न सिकाउने अभ्यासका रूपमा कार्यक्रमलाई अघि बढाइएको थियो । विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले विद्यार्थीमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन तथा उजागर गर्दै उनीहरूलाई विभिन्न नयाँ–नयाँ गतिविधिमा अभ्यस्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार यस्ता गतिविधिले बालबालिकामा सार्वजनिक रूपमा बोल्ने डर र हिचकिचाहट कम गर्दै आत्मविश्वास बढाउनुका साथै प्रभावकारी सञ्चार, सामूहिक कार्य, अनुशासन, नेतृत्व क्षमता तथा सिर्जनशीलता विकास गर्न महत्वपूर्ण भूमिका खेल्न मद्यत पुर्याउने गर्दछ । “विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित राख्नु हुँदैन,” प्राचार्य ज्ञवालीले भन्नुभयो, “उनीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर दिनुपर्छ। आजको सानो मञ्च नै भोलिको ठूलो नेतृत्वको आधार बन्न सक्छख ।”

कक्षा २ का विद्यार्थी विशेष खरेलको अध्यक्षता रहेको कार्यक्रममा विद्यार्थीहरू विभिन्न सदनमा विभाजित भई सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुतिमा सहभागी भएका थिए। अभिभावकहरूले समेत विद्यार्थीका प्रस्तुति प्रत्यक्ष अवलोकन गर्दै विद्यालयको शैक्षिक अभ्यास, बालबालिकाको सिकाइ वातावरण र उनीहरूको सर्वाङ्गीण विकासका विषयमा अन्तरक्रिया तथा सुझाव दिएका थिए । विद्यालयका प्रबन्ध निर्देशक हरि न्यौपाने, प्राचार्य मधुप्रकाश ज्ञवाली, सहप्राचार्य ध्रुव खरेल, शिक्षक पदम राना, अभिभावक तथा विद्याथी लगायतको उल्लेख्य सहभागिता रहेको कार्यकम छात्राद्वय आकृति लुइटेल र श्रीया क्षेत्रीले सन्चालन गर्नुभएको थियो  । छात्रा कृपा भण्डारीले सरस्वती वन्दना वाचन गरेको कार्यक्रममा अदिति पन्थले पञ्चशील वाचन गर्नुभएको थियो ।
 

तपाईको प्रतिक्रिया