00:00:00
स्थानिय

बाढीमा मृत्यु भएकाहरुकोे सम्झनामा बुटवल उपमहानगरपालिकाद्धारा दीप प्रज्वलन

मंगलबार भदौ २३, २०८३/ Tuesday 09-08-26

तिलोत्तमा,२३ भदौ । 
बुटवल उपमहानगरपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन गरेकोे छ । बुटवलले बुटवलस्थित पुष्पलाल पार्कमा सोमबार साँझ दीप प्रज्ज्वलन गरि बाढीमा परी मृत्यु भएकाहरुकोे सम्झनामा दीप प्रज्ज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो ।

यसै सन्दर्भमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विनाशकारी बाढीमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ  । पीडितको राहत र उद्दारका लागि नगरद्वारा ५१ लाख ,जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिकबाट १९ लाख गरी ७० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको समेत नगरप्रमुख पाण्डेले जानकारी गराउनुभयो ।

त्यस्तै उपप्रमुख साबित्रा देवी अर्यालले अनायसै आएको महाविपत्ति र देशले भोग्नुपरेको पिडा सहन गर्न नसक्ने अवस्थामा एकतावद्ध भएर दुखको घडीलाई शक्तिमा बदल्नुको विकल्प नभएको बताउनुभयो । उहाँले यस महाविपत्तिबाट बुटवल अर्थात जोखिमयुक्त रहेका अन्य स्थानले पनि बेलैमा सोच्नुपर्ने समय आएको प्रति सचेत रहन समेत सुझाउनुभयो । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक ज्ञवाली,तुल्सा अर्याल,बुटवलका उद्योगी–व्यवसायी, टोल विकास समिति, समाजसेवी तथा स्थानीयवासी लगायतले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेका थिए । उक्त कार्यक्रमको संचालन अधिकृत ठगिश्वर पोखरेलले गर्नुभएको थियो । 
 

तपाईको प्रतिक्रिया