राजखानीको माला बनाएर भैली गीतमा नाचेको भिडियो सार्वजनिक गर्ने रानाभाटलाई तिलोत्तमाले गर्यो कारबाही
बिन्दु भट्टराई,तिलोत्तमा २७ कात्तिक।
तिलोत्तमा नगरपालिकाका एक मासु व्यवसायीलाई व्यवसायको मर्यादा विपरीत कार्य गरेको भन्दै नगरपालिकाले १० हजार रुपैयाँ जरिवाना तिराएको छ । तिहारको अवसरमा खसी तथा बोकाको राजखानीको माला बनाएर लगाउँदै भैली गीतमा नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएर चौतर्फी आलोचना हुन थालेपछी तिलोत्तमा २ जानकीनगरमा अवस्थित आँधीखोला फ्रेस हाउसका संचालक ऋषिराम रानाभाट कारबाहीमा परेका हुन ।
मासु व्यवसायी रानाभाटलाई लिएर पछिल्लो समय भ्यूज र लाइकका लागि व्यापारिक मर्यादा र जनस्वास्थ्यको ख्याल नगरी सामग्री बनाउने प्रवृत्ति बढेको भन्दै सरोकारवालाहरूले यस्ता गतिविधिमा कडा निगरानी राख्न स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । यसैलाई मध्यनजर गर्दै शुक्रबार तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीको नेतृत्वमा अनुगमनमा गएको टोलीले उनलाई सचेत गराउँदै १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत मुक्तिराम खनालले जानकारी दिए ।
नगरपालिकाले पसल सञ्चालन गर्दा अनिवार्य रूपमा खाद्य स्वच्छता र मापदण्ड पालना गर्न कडा निर्देशन दिएको छ । साथै, आगामी दिनमा जनस्वास्थ्यमा असर पार्ने कुनै पनि प्रकारका अमर्यादित क्रियाकलाप नदोहो¥याउन चेतावनी समेत दिएको छ ।
यसैक्रममा व्यवसायी रानाभाटले पनि आफ्नो गल्ती स्वीकारेका छन् । उनले हामीसंग आफ्नो गल्ती स्वीकारेर सार्वजनिक रूपमा माफी समेत मागेको र आगामी दिनमा व्यवसायलाई मर्यादित, जवाफदेही ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसअघि यसै विषयलाई लिएर मासु व्यवसायी संघ रुपनदेहीले समेत अनुगमन गरी जरीवाना समेत तिराएको थियो ।
तपाईको प्रतिक्रिया