Main news

भारतीय समकक्षी मोदीको आसन्न भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग प्रधानमन्त्रीको परामर्श

09/05/2018

२०७५ बैशाख २५गते
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श लिनुभएको छ । आज प्रधानमन्त्रीे निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका साथै भारतीय प्रधानमन्त्री मोदीको आसन्न नेपाल भ्रमणका बारेमा छलफल गर्नुभएको हो । छलफलका क्रममा पूर्वप्रधानमन्त्रीहरुले सरकारको नीति तथा कार्यक्रम विकासमुखी र परिणाममुखी हुनपर्नेमा जोड दिएका थिए । विकासको गति निकै सुस्त रहेको भन्दै पूर्वप्रधानमन्त्रीहरुले तीव्र आर्थिक विकास हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई राष्ट्रिय हितमा प्रयोग गर्न पूर्वप्रधानमन्त्रीहरुले सुझाव दिएका छन् । छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी रहनु भएको थियो ।