Main news

नेपाल प्रहरीको संरचना प्रादेशिक तहअनुसार हुने

10/06/2018

सरकारले नेपाल प्रहरीको विद्यमान संरचनालाई प्रादेशिक तहमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आजको बैठकले प्रादेशिक तहका लागि नेपाल प्रहरीको नयाँ संरचनाअनुसार तीन हजार १ सय १ जनाको दरबन्दी सिर्जना गर्न स्वीकृती दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले प्रहरी एकाइ नै नपुगेका स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिको पहिलो प्राथमिकता दिन आगामी वर्ष एक हजार ६ सय दरबन्दी पूर्ति गर्ने तथा बाँकीमा क्रमशः दरबन्दी पूर्ति गर्ने गरी प्रस्तावित तीन हजार १ सय १ दरबन्दी सिर्जना गर्न स्वीकृती दिने निर्णय गरेको हो । यस्तै बैठकले नेपाल प्रहरीका केही पद खारेजी, पद मिलान र दरबन्दी थप गर्ने निर्णय पनिगरेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी तीन र सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी दुई कायम गरेको छ । यसअघि नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षकको स्वीकृत दरबन्दी संख्या १६ र सशस्त्र प्रहरी बलमा ६ जना रहेको थियो ।  सरकारले रसुवागढी—स्याफ्रुबेँसी र चीनको च्याङ्बु जोड्ने तथा सिन्धुपाल्चोकको तातोपानी नाकाको मितेरी पुल चीन सरकारको पूर्ण आर्थिक एवं प्राविधिक सहयोगमा पुनःनिर्माण गर्न स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।