Main news

राष्ट्रियसभा सदस्यको पदावधि निर्धारण गरिने

10/06/2018

 राष्ट्रियसभाका ५९ जना सदस्यको पदावधि निर्धारण गोलाप्रथाबाट हुने भएको छ । असार ४ गते गोलाप्रथाबाटसदस्यहरुको पदावधि २, ४ र ६ वर्ष निर्धारण गर्न लागिएको हो । राष्ट्रियसभा नियमावली आज पारित भएसँगै संघीय संसद् सचिवालयले दलहरुको परामर्शमा असार ४ गते गोलाप्रथाबाट राष्ट्रियसभाका सदस्यको समय निर्धारण गर्न लागेको हो । संविधानअनुसार राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्ष हुनेछ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठजना र राष्ट्रपतिबाट मनोनीत तीनजना गरी ५९ जना सदस्य छन् । राष्ट्रियसभा नियमावली अनुसार पदावधि निर्धारणका लागि खुला र महिलातर्फ क्लस्टर र प्रदेश अनुसार छुट्टाछुट्टै गोलाप्रथा हुनेछ ।  दलित र अपांगता भएका वा अल्पसंख्यकको सातै प्रदेशबाट निर्वाचित सातजनाबीच एकै पटक गोला प्रथा गरिने छ । राष्ट्रपतिबाट मनोनीत तीनजनाको छुट्टै गोलाप्रथाबाट पदावधि निर्धारण गरिनेछ । गोलामा २, ४ र ६ वर्ष लेखेर नेपाली भाषाको वर्णानुक्रमअनुसार सदस्यहरुलाई गोला तान्न लगाइने छ जस अनुसार दुईजनाको पदावधि दुई वर्ष, अर्को दुईजनाको चार वर्ष र दुईजनाको ६ वर्ष हुनेछ ।