00:00:00
स्थानिय

नवलपुर दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुल्यो

मंगलबार भदौ २९, २०७८/ Tuesday 09-14-21

नवलपरासी-२०७८ भदौ २९ 

           नवलपरासीको गैँडाकोट–१०, २३ स्मृति नजिक बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाउने तीन जनाको परिचय खुलेको छ ।काँकडभिट्टादेखि महेन्द्रनगरका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२–००१ नम्बरको यात्रुवाहक बस र ना ६ ख ७१२६ नम्बरको ट्रक आज बिहान चार बजे एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा बर्दिया बाँसबारी–८ बस्ने ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुर बस्ने अन्दाजी ४० वर्षीय किरङ्गी तिवारी र कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने अन्दाजी ३५ वर्षीय कृष्ण राना रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभएको छ। जुम्ला तिला गाउँपालिका–४ बस्ने ३३ वर्षीय टोपबहादुर शाही, बर्दिया बाँसगढी–८ बस्ने ८२ वर्षीय डिल्लीराम सुवेदी र कञ्चनपुर बेलपुर–९ बस्ने ३२ वर्षीय चित्रदेव लेखक दुर्घटनामा परि गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

अन्य घाइते हुनेहरुमा झापा बाहुनडाँगीका १६ वर्षीय पारस ढकाल, मोरङ विराटनगर–३ बस्ने २१ वर्षीया पूजा रेग्मी, त्यही ठाउँ बस्ने २८ वर्षीय सरोज पोखरेल, कैलाली बस्ने १६ वर्षीया रोशनी अधिकारी, कञ्चनपुर महेन्द्रनगर –१ बस्ने ४९ वर्षीय मोहन कोइराला रहेका छन् ।दुर्घटनामा परि बस चालक कञ्चनपुरका ४२ वर्षीय लालवीर लोहार,रूपन्देही बस्ने २८ वर्षीय सुरज अधिकारी,जुम्ला तिला गाउँपालिका–४ बस्ने २६ वर्षीय चन्द्रनाथ योगी, झापा बस्ने ३६ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् ।

अन्य घाइतेहरूमा कञ्चनपुर झलारी बस्ने २६ वर्षीया उर्मिला तिरुवा, ट्रक चालक प्युठानका २७ वर्षीय अमृत सिंह विष्ट, सुर्खेत विरेन्द्रनगरका ४० वर्षीय रामबहादुर थापा, नवलपुर हुप्सेकोट गाउँपालिका –३ बस्ने २६ वर्षीया सविना लिम्बु ,त्यही ठाउँका २ वर्षीय जोशन सारु मगर, नवलपुरका १८ वर्षीया गङ्गा ओली, सुर्खेत विरेन्द्रनगर–७, बस्ने ४२ वर्षीय मनकुमार थापा र महोत्तरी बर्दिवासका २३ वर्षीय रमेश यादव रहेका छन् ।

घाइते सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । दुर्घटनामा परि सामान्य घाइते भएका चार जनाको भने डिस्चार्ज भइसकेको उहाँले बताउनुभयो । 

तपाईको प्रतिक्रिया