काठमाण्डाै २०७८ कार्तिक १५
सामान्य अवस्थामा दैनिक एक हजार जनासम्मले राहदानी बनाउने गरेकामा हिजो एकैदिन ५ हजार जनाले राहदानीका लागि टोकन पाएका विभागका प्रवक्ता सरद राज अरनले जानकारी दिनुभयो ।
प्रवक्ता अरनका अनुसार केही दिनयता लगातार राहदानी बनाउनेको भीड बढेको छ । राहदानी विभागको अगाडि मानिसको भीड थेगिनसक्नु छ। हिजो राहदानी बनाउनका लागि ५ हजार जनाले टोकन लिएका उहाँले बताउनुभयो । अब टोकन नम्बरका आधारमा राहदानी वितरण गरिने उहाँको भनाइ छ।
भीड धेरै भएकाले भीड नियन्त्रणका लागि टोकनको व्यवस्था गरिएको भए पनि टोकन लिनकै लागि पनि भीड हुने गरेको छ । धेरै भीडका कारण बाटोमा हिँड्ने यात्रुलाई पनि समस्या पर्ने गरेको छ । बिहानैदेखि राहदानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । अहिले अमेरिका जानका लागि खुलेको डाइभर्सिटी भिसा (ई–डीभी) खुलेका कारण पनि राहदानी बनाउनेको भीड बढेको उहाँ बताउनुहुन्छ । त्यो भिसा आवेदनका लागि गएको वर्षदेखि राहदानी नम्बर अनिवार्य गरिएको छ ।
विगतका वर्षमा नागरिकता नम्बर वा अन्य परिचयपत्रकाे नम्बरले काम गर्थ्याे तर अहिले राहदानी नम्बर नै अनिवार्य गरेकाले राहदानी पहिल्यै बनाउनुपर्ने बाध्यता आवेदकलाई परेको छ । गएको सेप्टेम्बर महिनासम्म तीन लाख ४९ हजार १ सय ७५ वटा राहदानी जारी भएका छन् । नेपालमा एमआरपी जारी हुन सुरु गरेयता अहिलेसम्म ६७ लाख ५९ हजार ९ सय ८३ थान राहदानी जारी भएका छन् ।
तपाईको प्रतिक्रिया