00:00:00
राष्ट्रिय

आज एक सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइँदै 

मंगलबार फाल्गुण २४, २०७८/ Tuesday 03-08-22

काठमाडौं 
आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस, विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ।  सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ।  

यस वर्ष एक सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ मनाइदैछ । 

सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय  मान्यता प्रदान गरिएको थियो।  संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुवरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो। सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्र्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुवरी १९०९ का दिन महिला दिवस मनायो।

यसपछि यो फेब्रुवरीको अन्तिम आइतबारको दिन मनाइन थालिएको हो । १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दिवसको मान्यता दियो

१९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरेपछि यो हडताल ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो। अन्ततः मार्च ८ का दिन महिलालाई दिवसको रूपमा मनाइन थालियो।

हरेक वर्ष यस दिनलाई महिला दिवसको रुपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरुको अवस्थामा खासै परिवर्तन हुन सकेको पाईंदैन। कतिपय महिलालाई अझै पनि आफ्नो हक अधिकारका बारेमा जानकारी नै छैन । यद्यपी महिला अधिकारका बारेमा पछिल्ला दिनहरुमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा भने सुधार आएको पाइन्छ। 

महिला दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै संविधानमा नै महिला हकहितको सुनिश्चितता गरिएको र अबका दिनमा आवधिक योजना तथा कार्यक्रममा समेत महिला सशक्तिकरण एवम् लैङ्गिक समानताका लागि प्राथमिकताका साथ लाग्न आग्रह गर्नुभएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना सन्देश दिँदै सबै नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै संविधान कार्यान्वयन लगायत राष्ट्रका कार्यभारहरु पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भन्ने कामना गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया