तिलोत्तमा नगरपालिकाद्वारा कर्मचारी कुटपिट गर्ने दोषीलाई कारवाहीको माग
पवित्रा चौधरी
तिलोत्तमा-२०७९ मंसिर २६
तिलोत्तमा नगरपालिकाले कार्यकक्ष भित्रै कर्मचारी कुटिएको घटनामा संलग्न दोषीलाई कारवाहीको माग गरेको छ । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा घटनामा संलग्न दोषीलाई कारवाहीको माग गर्दै पत्र पठाएको प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले रेडियो लुम्विनीलाई जानकारी दिनुभयो ।
यसअघि घटनाको विरोध गर्दै पेन डाउन गरेका नगरपालिकाका कर्मचारीहरु काममा फर्किसकेका पनि उहाँले बताउनुभयो । घटनाप्रति नगरपालिका अन्तर्गतका वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले पनि आपत्ति प्रकट गरेका थिए । हिजो कार्यकक्ष भित्रै कर्मचारी कुटिएको भन्दै कर्मचारी संगठनले पनि भ्रत्सना गरेको थियो ।
अमिन पदमा कार्यरत इश्वरी भण्डारीमाथि कार्यकक्षमै हातपात भएको भन्दै नेपाल निजामती कर्मचारी संगठनले विरोध जनाएको हो । आइतबार दिउँसो ३ः२० बजेको समयमा तिलोत्तमा नगरपालिका वडा नम्बर ७ निबासी खिमानन्द काफ्लेले हातपात गरेका हुन् । उनको लालपुर्जामा ५ धुर जग्गा रहेको तर ६ धुर उपभोग गर्दै आएकोमा नगरपालिकाले ५ धुरमा मात्र घर बनाउन दिएको थियो ।
काफ्लेले आफ्नो घर सानो भएकोले ६ धुरमै बनाउन अनुमति नदिएको विषयमा हात पात गरेको नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले जनाएको छ । संगठनले आइतबार विज्ञप्ती निकालेर भण्डारीमाथि हातपात गरी घाइते बनाएको घटनाप्रति निन्दा एवं भ्रत्सना गरेको हो । संगठनका अध्यक्ष प्रेमप्रसाद खनाल र सचिव जीवन पौडेलद्वारा जारी विज्ञप्तीमा कर्मचारीको कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्दै कार्यसम्पादनको उचित वातावरणको लागि आवाज उठाइरहेको अवस्थामा कार्यस्थलमै आपराधिक घटना हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया