राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई तिलोत्तमाले गर्यो नगदसहित सम्मान
तिलोत्तमा २०७९ चैत्र १२
राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरि जनही ५० हजार नगद राशीसहित सम्मान गरेको छ ।
आइसीसी विश्वक लिग-२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनर ब्याटम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल तथा यू-१९ क्रिकेटका क्याप्टेन देव खनाललाई सम्मान गरिएको छ । दुई राष्ट्रिय खेलाडी सम्मिलित सिनीयर टोलीले विश्व कप छनोट खेल्न पाउने भएको छ भने यू-१९ का क्याप्टेन खनालले टिमलाई जित दिलाउँदै सन् २०२४ मा श्रीलंकमा हुने यू-१९ विश्वकपका लागि छनोट गराउन सफल भएका छन् ।
खेलाडीहरुलाई तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण, उप प्रमुख जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा टीका, माला तथा प्रशंसापत्र सहित नगद पुरस्कारले सम्मान गरेका थिए । खेलाडीहरुलाई सम्मान गर्दै नगर प्रमुख खाणले तिलोत्तमालाई क्रिकेटको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नुभएको थियो ।
खेलको माध्यमबाट भौतिक पूर्वाधार तथा मानवीय बिकासमा समेत टेवा पुग्ने खाणले बताउनुभयो । आफ्नो स्रोत र साधनले भ्याएसम्म तिलोत्तमाले खेलकूदको क्षेत्रमा लगानी गरेको बताउदै खाणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्दै तिलोत्तमा र सिङ्गो मुलुकलाई पहिचान दिलाउन सकेको भन्दै सम्मानित खेलाडीहरुलाई बधाईसहित शुभकामना व्यक्त गर्नुभयो ।
यसैगरी नगर उपप्रमुख चौधरीले खेलाडीहरुले नेपालको पहिचानसँगै तिलोत्तमालाई विशेष रुपमा पहिचान प्रदान गर्न सफल भएको उल्लेख गर्दै । सम्मानित खेलाडीहरुलाई बधाई दिँदै जसरी उदयीमान बनेका छन् त्यसैगरी उदाईरहन शुभकामना दिनुभएको थियो । खेलाडी उत्पादनका लागि तिलोत्तमा नगरपालिकाले आवश्यक पहल जारी राखेको बताउँदै चौधरीले खेलकै माध्यमबाट तिलोत्तमालाई परिचित गराउन पाउनु खुशीको कुरा भएको उल्लेख गर्नुभयो ।
सम्मान ग्रहण गर्दै राष्ट्रिय खेलाडी भुर्तेलले सबैको साथ समर्थनले नै आफू र आफ्नो टिमले सफलता हात पारेको उल्लेख गर्नुभयो । नगरपालिकाले आफूहरुलाई सम्मान गरेर तिलोत्तमामा थप नयाँ र प्रतिभावना खेलाडी उत्पादनका लागि अवसर सिर्जना गरेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया