क्रिमसन अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता, उपचार सेवामा ८० प्रतिशत छुट
प्रकाश पाण्डे,तिलोत्तमा
२०८० भदौ ०१
सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि क्रिमसन अस्पतालसँग सम्झौता गरेको छ । यहि भदौं दोस्रो साताबाट लागु हुने गरि भएकोे सम्झौतामा योगदानकर्ताले उपचारपछि कार्यालयसम्म पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी कोषसंग सम्झौता गरिएको क्रिमसन अस्पतालले जनाएको हो । सम्झौतासँगै योगदानकर्ताले क्रिमसन अस्पतालमा उपचार गर्दा लागेको रकमको २० प्रतिशतमात्र बुझाए पुग्नेछ ।
अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गतका स्वास्थ्य सुविधा लिँदा योगदानकर्ताले पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् । सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७५ बमोजिम नियमित योगदान गर्ने योगदानकर्ताले अब सरल र सहज ढंगबाट आफ्नै गाउँठाउको क्रिमसन अस्पतालबाट सरल स्वास्थ्य सुविधा पाउने गरि संझौता गरिएको अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयको भनाई छ ।
सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषको तर्फबाट कार्यकारी निर्देशक कृष्ण प्रसाद ज्ञवाली, कोषका निर्देशक उत्तमराज नेपाल तथा क्रिमसन अस्पतालको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद पाण्डेयलेबीच सेवा उपलब्ध गराउनेबारे २६ बुँदे सम्झौता गरिएको हो ।
कोषबाट के के सुबिधा पाइन्छन् ?
कोषले योगदानकर्ता वा योगदानकर्ताको पति या पत्नीको हरेक आर्थिक वर्षमा एक लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्नेछ । सुरक्षित मातृत्व सेवाअन्तर्गत योगदानकर्ता वा योगदानकर्ताको पत्नी सुत्केरी भएमा एक महिनाको न्यूनतम पारिश्रमिक १५ हजार बराबरको शिशु स्याहार खर्च र तीन महिनासम्मको शिशुको उपचार खर्च कोषले व्यहोर्नेछ ।
महिला योगदानकर्ता सुत्केरी भएको अवस्थामा आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बढीमा ३८ दिनसम्मको प्रसूति बिदाबापतको रकम उपलब्ध गराइनेछ । योगदानकर्ता बिरामी भई अस्पताल भर्ना भए उपचार गराउँदा वा चिकित्सकको सिफारिसमा बेड रेस्टमा बस्दा वार्षिक अधिकतम १३ हप्तासम्मको बिदाबापतको रकम उपलब्ध गराइनेछ ।
१० लाख रुपैयाँसम्मको घातक रोगको उपचार खर्च कोषले व्यहोर्नेछ । कामको सिलसिलामा भएको दुर्घटना र व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च कोषले सबै व्यहोर्नेछ । अन्य दुर्घटनाको हकमा वार्षिक सात लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्ने व्यवस्था छ । कामको सिलसिलामा हुने दुर्घटनाको कारण योगदानकर्ता अशक्त भएमा स्थायी पूर्ण असक्षमता भए पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन उपलब्ध गराइनेछ भने अस्थायी पूर्ण असक्षमता भए काममा नफर्किउञ्जेलसम्मका लागि पारिश्रमिकको मासिक ६० प्रतिशत उपलब्ध गराइनेछ । स्थायी आंशिक असक्षमता भए असक्षमताको प्रतिशतका आधारमा पारिश्रमिकको ६० प्रतिशत रकमलाई शत प्रतिशत मानेर आजीवन उपलब्ध गराइने व्यवस्था छ ।
योगदाकर्ताको मृत्यु भएमा पेन्सन सुविधा
योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा उसको पति या पत्नीले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको सम्पूर्ण रकम प्रतिफलसहित फिर्ता हुने व्यवस्था छ । योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन पेन्सन दिलाइने व्यवस्था छ ।
तपाईको प्रतिक्रिया