तिलोत्तमा ११ को कार्यालयमा रहेको कमल पोखरीमा छाडिएका माछा धमाधम मर्न थाले
तिलोत्तमा,२४ जेठ ।
बिन्दु भट्टराई
तिलोत्तमा नगरपालिका वडा नं ११को कार्यालयमा रहेको कमल पोखरीमा छाडिएका माछा धमाधम मर्न थालेका छन् । मंगलबार १०–१२ वटा माछा मरेको र त्यसयता संख्या बढ्दै विहीबारसम्म ४० –४५ वटा सम्म माछा मरेको वडा अध्यक्ष बिष्णु बरालले जानकारी गराउनुभएको हो ।
बरालका अनुसार केही समय अगाडी ३ हजारका संख्यामा माछा पोखरीमा छाडिएको थियो । माछा निरन्तर मरे पनि यसको कारण हालसम्म पत्ता नलागेको भन्दै अध्यक्ष बरालले चिन्ता ब्यक्त गर्नुभयो । नाली नभएको कारण स्थानीयले प्रयोग गरेको धाराको पानी उक्त पोखरीमा जम्मा हुने भएकोले पनि यो समस्या आएको हुनसक्ने भन्दै अध्यक्ष बरालले त्यसमा रोक लगाउनुपरेको दुखेसो पोख्नुभयो ।
अहिले पोखरीको पानी हटाउने र फ्रेस पानी हाल्ने काम भैरहेको अध्यक्ष बरालले बताउनुभयो । उहांले नगरपालिकामा मौखिक र लिखित रुपमा जानकारी गराएको तर नगरपालिकाले वजेट अभाव देखाएको भन्दै विज्ञटोली पठाएर अनुसन्धान गर्न समेत नगरपालिकालाई आग्रह गर्नुभएको छ ।
उक्त पोखरीमा माछामात्र नभई ४ वटा सर्प मरेको र केही हांससमेत घाईते भएकोले पानीनै विशाक्त हुन सक्ने आशंका गरिएपनि माछा के कारणले मर्यो भनेर पूर्ण छनबिन नभएसम्म अहिले नै कुनै निष्कर्षमा पुग्न नसकिने बरालको भनाई छ । । यो एउटा विपदकालिन अवस्था हो विपद ब्यवस्थापन समितिको यसतर्फ ध्यान जाओस् वडा अध्यक्ष बरालले भन्नुभयो ।
तपाईको प्रतिक्रिया