00:00:00
शिक्षा

ब्रिटिस ग्रामर स्कुल रुपन्देहीको आठौँ वार्षिकोत्सव 

शुक्रबार चैत २०, २०८२/ Friday 04-03-26

रुपन्देही, २० चैत — ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही (नमस्ते एकेडेमी) को आठौँ वार्षिकोत्सव एक विशेष समारोहका बीच सम्पन्न भएको छ । विद्यालयका निर्देशक पुष्पा कँडेलको अध्यक्षता तथा संस्थापक अध्यक्ष एवं निर्देशक डिल्लीनारायण पाण्डेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा अभिभावक, शुभेच्छुक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका अवसरमा विद्यालयका विद्यार्थीहरूलाई विभिन्न विधा र क्याटोगरीमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा विद्यार्थीहरूले नाटक, नृत्य, गीत, सङ्गीत तथा विविध कला प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।  विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि डिल्लीनारायण पाण्डे, निर्देशक पुष्पा कँडेल, संस्थापक श्यामलाल खरेल, संस्थापक प्राचार्य राजेन्द्र कुँवर तथा सहप्राचार्यद्वय महेश पौडेल क्षेत्री र उमेश कँडेललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले ब्रिटिस ग्रामर स्कुलले नेपालको शैक्षिक क्षेत्रमा नवीन सोच र अभ्यास भित्र्याउँदै गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्नुभयो । उहाँले आफ्ना बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि काठमाडौं वा विदेश पठाउनुपर्ने बाध्यता क्रमशः घट्दै गएको बताउँदै निजी क्षेत्रमैत्री शैक्षिक नीतिको आवश्यकता औँल्याउनुभयो । विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै शैक्षिक कार्यक्रमसँगै प्रविधिमैत्री शिक्षण, कार्यशाला तथा अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँदै आएको जानकारी गराइएको छ ।

‘विद्यार्थीद्वारा, विद्यार्थीका लागि’ भन्ने अवधारणामा सञ्चालन गरिएको कार्यक्रममा योजना, सञ्चालन तथा व्यवस्थापनमा विद्यार्थीहरूको सक्रिय भूमिका रहेको थियो भने शिक्षकहरूले आवश्यक सहजीकरण गरेका थिए । ब्रिटिस ग्रामर स्कुल रुपन्देही, ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गत सञ्चालित अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्था हो । यसका भगिनी संस्थाहरू चितवन, पोखरा, काठमाडौंका साथै दुबई, क्यानडा र बेलायतमा समेत रहेका छन् । मोफसल कै एक मात्र क्याम्ब्रिज सर्टिफाइड विद्यालयका रूपमा स्थापित संस्थाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार शिक्षण तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ  ।

संस्थापक प्राचार्य राजेन्द्र कुँवरले अभिभावकहरूलाई आफ्ना बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि विद्यालयसँग सहकार्य गर्न आग्रह गर्नुभएको कार्यक्रममा आगामी शैक्षिक सत्र २०८३ का लागि कक्षा पीजीदेखि कक्षा ९ सम्म सीमित सिटमा भर्ना खुला गरिएको जानकारी वहाँले दिनुभयो । विद्यालयमा हाल नेपालका विभिन्न जिल्ला साथै छिमेकी तथा विदेशी विद्यार्थीहरू अध्ययनरत रहेका छन् । स्थापना कालदेखि नै कक्षा ८, एसईई तथा कक्षा १२ मा सतप्रतिशत नतिजा हासिल गर्दै विद्यालयले मोफसल क्षेत्रमा उत्कृष्ट शैक्षिक इतिहास निर्माण गर्न सफल भएको जनाइएको छ ।
 

तपाईको प्रतिक्रिया