अक्सफोर्ड माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
तिलोत्तमा । साउन २ गते । बुटवलस्थित अक्सफोर्ड मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ का विद्यार्थी प्रकाश पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयका प्राचार्य तथा हिसान केन्द्रीय सदस्य दिनेश भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष डा. अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसाल लगायत सञ्चालक समिति, विभागीय प्रमुख, प्राध्यापक तथा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथि भण्डारीले गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारलाई आत्मसात गर्दै विद्यार्थीले मेहनत र सकारात्मक सोचका साथ आफ्नो भविष्य निर्माण गर्नुपर्ने बताउनुभयो । प्राचार्य भुसालले अक्सफोर्डले आधुनिक, व्यावहारिक र नतिजामुखी शिक्षामार्फत सक्षम, अनुशासित र सामाजिक उत्तरदायी नागरिक उत्पादन गर्ने लक्ष्यका साथ शिक्षण–सिकाइ गतिविधि सञ्चालन गरिरहेको उल्लेख गर्नुचभयो ।
कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट जीपीए हासिल गर्ने ४० विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । साथै अतिथिहरूलाई टिका तथा खादा लगाई सम्मान गरिएको कार्यक्रममा लोकदोहोरी गायिका तथा पूर्वविद्यार्थी रीतु थापाले सांगीतिक प्रस्तुति दिनुभएको थियो । विबेचना प्रसाई र श्रीसा न्यौपानेले संयुक्त रूपमा सन्चालन गर्नुभएको कार्यक्रमको संयोजन प्राध्यापक झविन्द्र मरासिनी र कपिल ढकालले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया