00:00:00
स्थानिय

गुल्मेली सम्पर्क समाज रुपन्देही रेडक्रसद्वारा सम्मानित

रक्तदान अभियानमा उल्लेखनीय योगदानको कदर
बुधबार श्रावण १३, २०८३/ Wednesday 07-29-26

तिलोत्तमा ।  साउन १३ गते । ३१औँ रक्त सञ्चार दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति रुपन्देहीले रक्तदान अभियानमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै गुल्मेली सम्पर्क समाज रुपन्देहीलाई सम्मान गरेको छ।

समाजले आफ्नो २३औँ स्थापना दिवसको अवसरमा गत जेठ १७ गते आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा १०७ युनिट रगत संकलन गरेको थियो। सोही योगदानको कदर गर्दै रेडक्रसले समाजलाई सम्मान प्रदान गरेको हो।

सम्मान समारोहका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले रक्तदानलाई जीवनदानको अभियान भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाउने बताए। उनले सामाजिक सेवामा समाजले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिन आग्रह गरे।

कार्यक्रममा समाजका अध्यक्ष डा. नारायण प्रसाद पन्थ, प्रथम उपाध्यक्ष हेम थापा र महासचिव राजेन्द्र कुँवरले संयुक्त रूपमा सम्मान ग्रहण गरेका थिए। सम्मानपछि उनीहरूले यो सम्मान सम्पूर्ण रक्तदाता, सदस्य, शुभेच्छुक तथा सहयोगीहरूको साझा उपलब्धि भएको प्रतिक्रिया दिएका छन्।

"बुझौँ हाम्रो रीति र थिति, जोगाऔँ हाम्रो गौरवमय संस्कृति" भन्ने नारासहित वि.सं. २०६० मा स्थापना भएको समाजले सामाजिक, सांस्कृतिक तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। समाजले गुरुयोजनाअन्तर्गत ज्येष्ठ नागरिक मिलन केन्द्र, श्री श्रृङ्गेश्वर धाम तथा निःशुल्क आवासीय छोरी शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

समाजका अनुसार आगामी वर्षहरूमा रक्तदान अभियानलाई अझ व्यापक बनाउँदै स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका कार्यक्रम विस्तार गरिनेछन्। रेडक्रसबाट प्राप्त सम्मानले समाजलाई थप जिम्मेवार र सेवामुखी बन्न प्रेरणा मिलेको समाजले जनाएको छ।

तपाईको प्रतिक्रिया