न्यू इन्भाइरन्मन्टमा अभिभावक अन्तरक्रिया तथा यूकेजीका विद्यार्थी लक्षित कार्यक्रम
प्रकाश पाण्डे । असोज ६ गते । न्यू इन्भाइरन्मण्ट मावि मणिग्राममा अभिभावक अन्तरक्रिया तथा यूकेजी तहका विद्यार्थी सहभागी कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको सभाहलमा आज आयोजित कार्यक्रममा यूकेजी तहका विद्यार्थीहरूले गीत, अभिनय, सिकाई प्रस्तुति र नृत्यमार्फत आफूले सिकेका विषय अभिभावक समक्ष प्रस्तुत गरेका छन ।
विद्यार्थीहरूले निरन्तर सिकाइ गतिविधि अन्तर्गत भ्यागुताको जीवनचक्रमा आधारित अभिनय, विभिन्न परिस्थितिमा आधारित भावनात्मक गीत, सानो सेतो पाटीमार्फत सिकाई प्रस्तुति तथा चित्रसहित परिवारका सदस्यसम्बन्धी गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक तथा अध्यक्ष हरि प्रसाद न्यौपानेले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय र अभिभावकबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्राचार्य मधु प्रकाश ज्ञवालीले असल अभिभावकत्व सम्बन्धी अभिभावक केन्द्रित प्रस्तुति दिनुका साथै सिपिएस पद्धतिका बारेमा अभिभावक तथा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो । उहाँले बालबालिकासँग गुणस्तरीय समय बिताउने, नियमित संवाद गर्ने, खेलमार्फत सिकाइलाई प्रोत्साहन गर्ने, पढ्ने बानीको विकास गर्ने, भावनात्मक सुरक्षा प्रदान गर्ने तथा विद्युतीय उपकरणको सन्तुलित प्रयोगमा ध्यान दिनुपर्ने विषयमा अभिभावकलाई जानकारी गराउनुभएको थियो ।
विद्यालयका प्रबन्ध निर्देशक हरि प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राचार्य मधु प्रकाश ज्ञवाली, सह प्राचार्यद्वय ध्रुव खरेल र पदम राना तथा पूर्व प्राथमिक तहकी इन्चार्ज सुल्ताना खातुन लगायतको उपस्थिति थियो । कार्यक्रममा यूकेजीकी छात्रा आरोही महतले स्वागत मन्तव्य, निहारिका बस्यालले सरस्वती वन्दना र आरुषी घिमिरेले पञ्चशील प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षिका एलिसा क्षेत्रीले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया