डन मोडल एकेडेमीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
तिलोत्तमा । साउन १७ गते । अभिभावक र विद्यालयबीचको सहकार्यलाई अझ सुदृढ, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यका साथ तिलोत्तमा नगरपालिका–६, नयामिलस्थित डन मोडल एकेडेमीले अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । होटल टुलिप, ड्राइभरटोलमा आयोजित कार्यक्रममा प्रमुख प्रशिक्षक, लुम्बिनी वाणिज्य क्याम्पसका सहायक प्राध्यापक मुकुन्द ज्ञवालीले अभिभावकको जिम्मेवारी, बालबालिकाको समग्र व्यक्तित्व विकास, घर–विद्यालयबीचको प्रभावकारी सहकार्य तथा गुणस्तरीय शिक्षाका विविध आयामबारे विस्तृत अभिमुखीकरण गर्नुभएको थियो ।
उहाँले विद्यार्थीको शैक्षिक उपलब्धि र व्यक्तित्व विकासमा अभिभावक, शिक्षक तथा विद्यालयबीचको नियमित संवाद, समन्वय र सहकार्य अपरिहार्य हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा सहायक प्राचार्य सन्तोष पौडेलले विद्यालयमा कार्यान्वयन गरिएको निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको उद्देश्य, कार्यविधि तथा यसले विद्यार्थीको सिकाइ उपलब्धि, आत्मविश्वास र समग्र विकासमा पार्ने सकारात्मक प्रभावबारे अभिभावकलाई जानकारी गराउनुभयो । त्यसैगरी विद्यालयका प्राचार्य सुवोध भट्टराईले विद्यालयले हालसम्म हासिल गरेका शैक्षिक उपलब्धि, आगामी योजना, गुणस्तरीय शिक्षाका लागि अवलम्बन गरिएका नवीन अभ्यास तथा त्यसलाई सफल बनाउन अभिभावकको सक्रिय सहभागिताको महत्त्वबारे प्रकाश पार्नुभयो ।
उहाँले विद्यालय र अभिभावकबीचको साझेदारी नै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणको आधार हुने उल्लेख गर्नुभयो । कार्यक्रमको समीक्षा गर्दै अभिभावक रुपा भण्डारी र श्रृजना पोखरेलले अभिमुखीकरण कार्यक्रम अत्यन्त ज्ञानवद्र्धक, उपयोगी र समयसापेक्ष रहेको प्रतिक्रिया व्यक्त गर्नुभयो । विद्यालय सञ्चालक समितिका अध्यक्ष यज्ञप्रसाद ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले अघि बढाएको गुणस्तरीय शैक्षिक अभियानप्रति पूर्ण सहमति जनाउँदै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि विद्यालयसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक पारस घिमिरेले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया