टाकुरा बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा
बचत ५ करोड नाघ्यो
तिलोत्तमा । असोज २५ गते । तिलोत्तमा–१ स्थित टाकुरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । तिलोत्तमाको शान्तिचोकस्थित होटल दरबार लनमा सम्पन्न सभाले अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र आगामी कार्ययोजना सर्वसम्मत पारित गरेको छ । सभामा अध्यक्ष राजेन्द्र कुँवरले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष वीरेन्द्र रानाले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य शंकर गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीका अनुसार आर्थिक वर्ष २०८२÷८३ को अन्त्यसम्म संस्थाको कुल बचत ५ करोड ९ लाख ८० हजार ४ सय ७४ रुपैयाँ पुगेको छ । संस्थाको कुल शेयर रकम ४५ लाख २४ हजार रुपैयाँ, कुल लगानी ३ करोड ८८ लाख ३७ हजार रुपैयाँ र बैंक मौज्दात १ करोड ९० लाख २२ हजार रुपैयाँ रहेको व्यवस्थापक कविता कुँवरले जानकारी दिनुभयो ।
ड्राइभरटोलमा कार्यालय रहेको सहकारीमा हाल ५१० जना सदस्य आबद्ध छन् । साधारण सभाका अवसरमा ७५ वर्ष उमेर पुगेका तीन जना ज्येष्ठ शेयर, सरकारी सेवामा नाम निकाल्न सफल शेयर सदस्य तथा उनीहरूका सन्तान, उत्कृष्ट सदस्यता विस्तारकर्ता, उत्कृष्ट ऋणी, छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी तथा विद्यावारिधि हासिल गरेका सदस्यलाई पनि सम्मान गरिएको छ । संस्थाका अध्यक्ष राजेन्द्र कुँवरको अध्यक्षता तथा संस्थापक अध्यक्ष गिरिराज बन्जाडेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपाध्यक्ष खेमराज खनालले स्वागत मन्तव्य राखेका थिए भने सचिव पशुपति चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष तथा सल्लाहकार रमेश ज्ञवाली र सल्लाहकार गोपालप्रसाद आचार्यल गायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै सहभागीले विभिन्न जिज्ञासा राखेका थिए भने ती जिज्ञासाको जवाफ अध्यक्ष कुँवरले दिएका थिए ।
तपाईको प्रतिक्रिया